kumari
stcnepal

१८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसको खोप लगाउने

काठामाडौ । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।
पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए ।

उनले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरे । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अहिलेसम्म कूल जनसंख्याको ३० प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसंख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौंका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताए ।

उनले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताए । उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलंकीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ ।

footer