kumari
stcnepal

थापाले गरे पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पर्सी १५ गते देखी सुरु हुने पार्टीको महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई ४ वर्ष धैर्य गर्न आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले पार्टी यो भन्दा कमजोर हुने ठाउँ नभएको भन्दै पार्टीलाई अलि माथि उठाएर नेतृत्व छाड्ने बताएका छन् ।

युवाहरुले नेतृत्व लिन्छौं भन्दा आफू खुशी भएको भन्दै थापाले भने, ‘पार्टीे कमजोर अवस्था छ । यो भन्दा कमजोर हुने ठाउँ छैन । ४ वर्ष धैर्य गर्नुस्, अलि माथि पुगेपछि तपाईंहरुलाई जिम्मा लगाउँला ।’ आफू आर्यघाट पुग्दासम्म अध्यक्ष हुनुपर्छ भन्ने सोच नरहेको भन्दै थापाले पार्टीलाई आगामी निर्वाचनबाट अग्रणी शक्तिको रुपमा स्थापित गरेपछि र हिन्दु राष्ट्र तथा राजतन्त्र स्थापित गर्ने आधार स्थापना गरेपछि विश्राम लिने बताउदै पार्टी नेता तथा सबै कार्य कर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।

नेतृत्व हस्तान्तरणको कुरा गर्नेहरुले पार्टी नेतृत्वलाई असफल भनेकामा थापाले आक्रोश पोखे । ‘नयाँ जिम्मेवाररी लिने मान्छेले, नेतृत्वलाई गाली गरेर बदनाम गरेर असफल भनेर हुँदैन । कमल थापा पशुपति प्रकाश असफल भयो भन्ने मान्यता स्वीकार गर्न सकिँदैन’ उनले भने ।उनले नेतृत्व बुढो भइसक्यो भन्नेसँग टुँडिखेलमा दौडिन पनि तयार रहेको बताए ।

‘टुँडिखेलमा गएर दौडौ, मलाई जित्नुभयो भने म अध्यक्ष पद छोड्न तयार छु’ अध्यक्ष थापाले भने ।थापाले नेता धवलशम्शेर राणालाई पनि सहमतिमा आउन आग्रह गरेका छन् । ‘सहमति गरौं, के आधारमा गर्नुपर्छ, छलफल गरौं भन्दै आफ्नो उम्मेदवारीलाई पार्टीको आवश्यकता भएको बताएका छन् ।

footer