अमेरिकाले केही नेपाली सहित ३ सय भन्दा बढीलाई पानामाको होटलमा राख्यो
वि.सं.२०८१ फागुन ९ शुक्रवार १७:२५
shares

पनामा । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन् । जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने । यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको छ । यसैबीच केही तस्वीरहरु बाहिर आएका छन्, जसले भावुक बनाउँछ ।
समाचार अनुसार पनामाको एउटा होटलमा करिब ३०० जना आप्रावासीलाई राखिएको छ । यी तस्वीरहरू ती व्यक्तिका हुन्, जसको हातमा ‘हामीलाई मद्दत गर्नुहोस्’ लेखिएको कागज देखिन्छ ।अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ । होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा होटल भित्र मानिसहरु सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौँ’ जस्ता ब्यानर देखिएको छ ।
यसबारे अधिकारीहरूले हिरासतमा रहेका आप्रवासीमध्ये ४० प्रतिशत अझै पनि आफ्नो देश फर्कन तयार नभएको बताएका छन् । अमेरिकी सरकारले उनीहरुलाई फिर्ता नगए सम्म उनीहरुलाई होटलमा राख्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार यी ३०० आप्रवासीमध्ये धेरैजसो भारत, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका नागरिकहरू रहेका छन् ।अमेरिकाले यी मध्ये केही देशबाट निर्वासन प्रक्रियामा केही समस्याहरू सामना गरिरहेको छ । यी मानिसहरू सबै समस्या समाधान नभएसम्म यस होटलमा बस्नेछन् ।
पनामाका सुरक्षामन्त्री फ्रान्क एब्रेगोका अनुसार यस विषयमा बाहिर आएको छ । जसमा उनले यी मानिसहरूलाई आफ्नो स्वतन्त्रताबाट वञ्चित नगरिएको बरु आफ्नै सुरक्षाका लागि हिरासतमा लिएको बताएका छन् । एब्रेगोले आप्रवासन सम्झौताअन्तर्गत सबैलाई उचित चिकित्सा सहायता र खाना र पानी उपलब्ध गराइएको बताए ।




































