अध्यादेश त्तकाल फिर्ता लिन नेपाल बारको सरकारसँग माग
वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१३
shares

काठमाडौं । नेपाल बार एशोसियसनले राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बुधबार बारका महासचिव केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी संविधानवाद प्रतिकूल काम गर्न नहुने बताएका हुन् ।
बारले जनप्रतिनिधिमूलक संस्था, संसदीय विधि र प्रक्रियालाई सम्मान गर्न पनि सरकारलाई आग्रह गरेको छ । ‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दूर्लभ अभ्यासलाई नियमित संसद् अधिवेशन आव्हान भइसकेपछि पुनः स्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसदलाई छली अध्यादेश जारी गर्ने कार्यले संसदीय अभ्यास र संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारीतालाई बढावा दिने हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता कार्य संविधानवाद प्रतिकूल छ । अतः उक्त अध्यादेशलाई तत्काल फिर्ता लिन नेपाल सरकार समक्ष माग गर्दछौं ।’




































