आज एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियान बिच एकीकरण हुँदै
वि.सं.२०८२ साउन २ शुक्रवार ०७:१७
shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो ।
गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता वामदेव गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन पुगेका हुन् ।
यस अगाडि नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजे पनि त्यसवेला गौतमले मागेको पद एकीकृत समाजवादीले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए ।एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने बताएका थिए ।गौतम एमालेमा समाहित हुन तयार नै देखिएपनि एमालेको सचिवालय बैठकले ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भन्ने मात्रै निर्णय गरेपनि एमालेले उनलाई खासै वास्ता गरेको थिएन ।
२०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए । त्यही बेला माधव नेपाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न पुग्दा अलग्गै बसेका थिए । नेकपा कालमा ओली र प्रचण्ड बिच अन्तरविरोध चुलिँदा गौतम प्रचण्डर माधवतिर लागेका थिए ।




































