माओवादी अध्यक्ष दाहालले भने सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्नु
वि.सं.२०८२ साउन १७ शनिवार १४:४३
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउने-भत्काउने खेलमा नलागी सङ्गठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
शुक्रवारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले १० बुँदे ब्रिफिङमार्फत पार्टीको आन्तरिक विषय बाहिर नलैजान र सङ्गठन निर्माणमा जोड दिन आग्रह गरे ।प्रचण्डले पार्टीभित्रको दुई लाइन सङ्घर्षलाई सार्वजनिक रूपमा लैजानु गलत भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशनको माग गर्दै चार बुँदे दस्ताबेज सार्वजनिक गरेपछि उत्पन्न विवादप्रति इङ्गित गर्दै प्रचण्डले पार्टीभित्रै छलफल गर्न र अनुशासन कायम राख्न आग्रह गरे ।
उनले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गर्ने शर्मा, पूर्वमन्त्री सुदन किराँती र शिवकुमार मण्डलको शैलीप्रति असन्तुष्टि जनाउँदै यस्ता विषय बन्द कोठामा राख्नुपर्ने बताए । प्रचण्डले बुर्जुवा पार्टीको जस्तो सार्वजनिक आलोचनाले गलत सन्देश जाने भन्दै अनुशासित हुन निर्देशन दिए ।पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार वर्षा सकिएपछि पार्टी अभियान सुरु हुनेछ र त्यसपछि केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । समाजवादी मोर्चालाई बलियो बनाउन र एकीकरणको प्रयासमा पनि पार्टी सक्रिय रहेको उनले बताए । स्थायी कमिटी बैठक तीन दिनसम्म चल्नेछ ।





































