रूपैठामा आज हिन्दू समुदाय र प्रहरी बीच झडप
वि.सं.२०८२ भदौ १५ आइतवार १९:०९
shares

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा आज हिन्दू समुदाय र प्रहरीबीच झडप भएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार र हवाइ फायर गरिएको छ ।स्थानीय झन्डा चोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डाको विषयमा हिजो विवाद हुँदा दुई समुदायबीच झगडा भएको थियो ।गणेश पूजाको मूर्ति विसर्जन गरी फर्किने क्रममा सो झण्डा हटाउन खोज्दा झडप भएको थियो । त्यस क्रममा प्रहरीले ११ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दुईजना घाइते भएका थिए ।
डिएसपी सिंहका अनुसार आज दुवै समुदायका भर भलाद्मी प्रहरी प्रशासन बसेर दुबै समुदायको झण्डा उक्त चोकबाट हटाउने सहमति भएको थियो ।सोही सहमति अनुसार प्रहरीले मुस्लिम समुदायले लगाएको झण्डा हटाएको र हिन्दू समुदायले लगाएको झन्डा हटाउन खोज्दा ढुंगामुढा भएको हो ।अहिले त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।































