बालेन सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्यो : नेपाली काँग्रेस
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १६:५९
shares

काठमाडौँ – नेपाली कांग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसद्प्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ।
सानेपामा शुक्रबर पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन्। राष्ट्रपतिबाट संसद्को बैठक आह्वान गरिसकेपछि बैठक प्रारम्भ नै नभई सरकारको सिफारिसमा स्थगित गरिनु संसदीय राजनीतिक प्रणालीको परम्पराविपरीतको अभ्यास भएको उनले टिप्पणी गरे।
कार्यपालिकाले व्यवस्थापिकालाई एउटा औजारको रुपमा मात्र प्रयोग गर्न खोज्नु चिन्ताको विषय भएको बताए। संसद् नीति निर्माण र संवादको थलो भएकोले यसलाई सोही गरिमा र उचाइबाट व्यवहार गरिनुपर्ने उनको माग छ।
चालिसेले भने, ‘यसले संसद्को सर्वोच्चतालाई अवमूल्यन गरेको देखिन्छ। बिना तयारी किन आह्वान गरियो र के कारणले स्थगित गरियो, यस्ता विषयमा जनता सूचित हुन जरुरी छ। यस्ता कार्यहरु संवैधानिक नैतिकताको प्रतिकूल छन्।’



































