यी हुन सुकुम्बासीका लागि तोकिएका अस्थायी बसोवास गर्ने ठाउँहरू
वि.सं.२०८३ वैशाख १२ शनिवार ०९:५८
shares

काठमाडौं । सरकारले स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने भएको छ । शनिबार बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी क्षेत्र खाली गराउन गराउन लागेको छ ।
शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुमवासीहरुलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ । कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा राख्नको लागि अर्को स्थान तय गरिएको छ ।भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ । खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।
यी संरचनाहरू यसअघि निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुमवासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो ।राजधानीका नदी किनारका बहुमूल्य सरकारी सार्वजनिक पर्ती जग्गा वर्षौँदेखि कब्जा गरेर बसेका अनधिकृत बस्ती हटाउन लागिएको सरकारले जनाएको छ । सार्वजनिक जग्गा फिर्ता गर्नु मात्र नभई, ‘सक्कली’ र ’नक्कली’ सुकुमवासीको छनोट गर्नका सुकुमवासी बस्ती खाली गर्न लागेको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी गराइन् ।
‘सरकारले यसपटक भावनात्मक आधारमा नभई तथ्य र लगतका आधारमा सुकुम्वासी समस्याको स्थायी समाधान खोज्ने रणनीति लिएको छ,’ दाहालले भनिन्, ‘बागमती सभ्यता लगायत निकायबाट लगत संकलनका क्रममा बस्तीमा बस्ने अधिकांश व्यक्तिको अन्यत्र घर र जग्गा रहेको पुष्टि भइसकेको छ ।’सुकुमवासीलाई अस्थायी स्थानमा राखेपछि अन्यत्र जग्गा भए/नभएको लगत संगत गर्ने छ । सुकुम्वासीका नाममा सार्वजनिक जग्गा कब्जा गर्ने ‘नक्कली’ पात्रहरूलाई कुनै पनि हालतमा विकल्प नदिने र उनीहरूको विवरण सार्वजनिक गर्ने तयारी समेत सरकारले गरेको छ ।
वास्तविक र अवास्तविक सुकुमवासीको पहिचान गर्ने कार्य भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले गर्नेछ । प्रत्येक व्यक्ति विस्तृत विवरण डिजिटल प्रणाली राख्ने गरी सरकारले तयारी गरेको छ ।शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै सुकुमवासीको व्यवस्थापन मिलाएको छ । स्थानान्तरण हुनेहरूका लागि आज र भोलि सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्नेछ ।
पुनर्स्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न गरिएको सरकारले जानकारी गराएको छ ।


































