चारैतिरबाट हिन्दुधर्ममा प्रहार
वि.सं.२०७६ वैशाख १२ बिहीवार १६:४६
shares

काठमाडौ । २०७२ साल असोज ३ गतेदेखि लागु भएको संविधान अनुसार कसैलाई पनि दबाब दिएर उसको धर्म परिवर्तन गराउन नपाउने व्यवस्था भएपनि पछिल्लो समयमा धर्म परिवर्तन गराउने क्रम व्यापक बढेको छ । खासगरी पश्चिम मुलुकका व्यक्तिहरुबाट गरिब र अशिक्षित नेपाली जनतालाई हिन्दुधर्मबाट क्रिश्चियन धर्ममा परिवर्तन गराउने क्रम बढेको छ । विभिन्न प्रलोभन देखाएर उनीहरुलाई क्रिश्चियन धर्मका अनुयायी बनाउने क्रम बढेको भएपनि सरकारले केहीलाई बाहेक अन्यलाई कारबाही गर्न सकेको छैन ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुको धर्म भनेको क्रिश्चियन नै हो हिन्दु धर्म भनेको सामन्तीहरुको धर्म हो भन्दै सार्वजनिक रुपमा भाषण गर्न थालेपछि उनैको आडमा क्रिश्चियन धर्म प्रचारकहरु विभिन्न बहाना बनाएर नेपालमा आई धर्म प्रचारमा लागेका छन् ।
पछिल्लो समयमा गृह मन्त्रालयले दुई जापानी नागरिकलाई इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै देश निकाला गर्दै पाँच वर्षसम्म नेपाल आउन प्रतिबन्ध लगाएको छ । त्यसरी प्रतिबन्ध लगाइएकाहरुमा मोरिता मासहिरो र हासिमोलो युकुरी रहेका छन् । उनीहरु दुवै विद्यार्थी भिषामा नेपाल आएर बसेका भएपनि उनीहरुको काम भनेको इसाई धर्मको प्रचार गर्नु नै थियो । उनीहरुले कास्कीको पोखरा फुलबारी स्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकायमा अध्ययन गर्न भिषा लिएका थिए । विद्यार्थी भएर इसाई धर्म प्रचारमा लागेको हुनाले उनीहरुलाई देश निकाला गरिएको हो ।
संविधानले कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पार्ने काम, व्यवहार गराउन नहुने स्पष्ट व्यवस्था संविधानमा गरिएको भएपनि नेपाल कम्युनिष्ट पार्टीकै अध्यक्ष दाहालले कम्युनिष्टहरुको धर्म भनेको क्रिश्चियन नै हो भन्ने उद्घोष गरेपछि क्रिश्चियन धर्म प्रचारकहरुले हिन्दु धर्मावलम्बीहरुलाई धर्म परिवर्तन गराउँदै आएका छन् ।
केही समय पहिला नै गृह मन्त्रालयले एक फिलिपिनी दम्पत्ति, दुई जापानी युवती र एक अस्टे«लियन युवतीलाई धर्म प्रचारमा संलग्न भएको भन्दै देश निकाला गरेको थियो । व्यवसायिक भिषा लिएर पुल्चोकमा रेष्टुराँ चलाउँदै आएका फिलिपिनि दम्पत्ति इसाई धर्म प्रचारमा संलग्न भएका थिए ।
धर्म प्रचारकहरु विभिन्न बहाना बनाएर नेपाल प्रवेश गरी धर्म प्रचारमा लाग्ने गरेका र सत्ताधारी पार्टीकै अध्यक्षले समेत हिन्दुधर्मको विरुद्धमा बोल्ने गरेका हुनाले ९२ प्रतिशत भन्दा बढी हिन्दुधर्मावलम्बी बसोबास गर्ने नेपालमा अब हिन्दु धर्मावलम्बी एकजुट भएर आफ्नो धर्मको रक्षामा नलाग्ने हो भने केही वर्षपछि नै हिन्दु धर्मावलम्बीहरु अल्पमतमा पर्ने निश्चित जस्तै देखिएको छ ।



































