सञ्चारमन्त्रीको देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार्न नेपाल टेलिकमलाई निर्देशन
वि.सं.२०८२ कात्तिक २३ आइतवार १५:४९
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् ।उनले देशका अधिकांश ठाउँमा मोबाइल नेटवर्क नटिप्ने समस्या बढेको गुनासो आउने गरेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइट मर्मतमा लाग्न समेत निर्देशन दिए । उनले नेटवर्क नआउने गुनासो मन्त्री र सचिवसम्म पुग्नु बिडम्वना भएको भन्दै आवश्यक सुधारमा ध्यान दिन आग्रह गरे ।
‘देशका अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ । त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पुर्याउनुपर्यो । १ हजार २ सय टावरको टेण्डर किन भएन ? २ सय टावरको टेण्डर प्रक्रिया कहाँ पुग्यो ? बिग्रिएका साइटहरूको मर्मतको सवालमा कहाँ छौं हामी ? प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम हामी महिना दिनसम्म किन गर्न सक्दैनौं ?,’ उनले भने ।उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रिय जस्तै भएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशन समेत निर्देशन दिए । उनले टेलिकमको लागि कार्यविधि बनाउन सरकार लागिपरेको पनि बताए ।
‘ग्राहकले कल र डाटा प्रयोग गरेवापत पैसा तिरेको छ । उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरूको दायित्व हो । म के भन्छु भने तपाईंको गुनासो सुन्ने शाखा मृतप्राय नराख्नुहोस् है । गुनासो कार्यान्वयनमा जानुपर्यो,’ उनले भने, ‘यहाँको गुनासो शाखामा आउने गुनासो मन्त्री र सचिवलाई आउनु भएन । हामी आवश्यक कार्यविधि बनाउँछौं । नेटवर्कले काम नगरेको गुनासो त मन्त्रीलाई आउनु उचित भएन नि । त्यसकारण कभरेज बढाउने कुरामा ख्याल गर्नुहोस् ।’




































