ओलीको ट्रेड युनियन खारेज गर्ने सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति असन्तुष्टि
वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:३४
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ट्रेड युनियन खारेज गर्ने सरकारका मन्त्रीहरूको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
एमालेले आयोजना गरेको घर फर्क अभियानलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले सार्वजनिक संस्थाहरूमा गठन भएका पेसागत ट्रेड युनियनका संगठन खारेज गर्न नमिल्ने तर्क गरेका हुन् ।शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालय र विद्यालयमामा गठन गरिने दलीय संगठनलाई मान्यता नदिने र खारेज गर्ने बताएको प्रति आक्रोश पोखे । उनले अब एमालेको विद्यार्थी संगठन अनेरास्ववियु निजी विद्यालयमा पनि प्रवेश गर्ने बताए ।
‘अब अनेरास्ववियु निजी विद्यालयमा पनि पस्छ, क्याम्पसमा पनि पस्छ त्यहाँ राम्रोसँग काम गर्छ, विद्यालय तहबाट क्याम्पस प्रवेश गर्दै गरेका विद्यार्थीहरूलाई बिगार्ने छुट कसैलाई छैन, फिस तिरेर हामीले पढाउने, तपाईं हाम्रा छोराछोरीलाई बिगार्ने ? त्यो हुँदैन,’ उनले भने ।ट्रेड युनियनका विरुद्ध सरकार बोलिरहेको भन्दै ओलीले संयमित हुन चेतावनी दिए ।
उनले भने, ‘अहिले सरकार ट्रेड युनियनविरुद्ध बोलिरहेको छ, हामीले थुप्रै देख्यौं विगतमा पनि, यहाँबाट यो खाली गर्दिन्छु, त्यहाँबाट त्यो खाली गर्दिन्छु, संगठन खाली गर्दिने, संस्था खाली गर्दिेन, अहिले त देशमा पार्टी नै खाली गर्दिने, पार्टी नै समाप्त पार्दिने, के के लहर चलाउन खोज्या छन् नि यी तत्वहरूले, हुँदैन इन्टरन्याश्नली रिकजनाइज कुरा हो ट्रेड युनियन अधिकार,’ ओलीले भने ।
ट्रेड युनियन खारेज गर्छु भन्नेहरू नजन्मिँदै अन्तर्राष्ट्रिय मजदुर संगठन ( आइएलओ) गठन भएको प्रसंग जोड्दै ओलीले कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुन नदिने चेतावनी दिए । ‘कसैलाई मन नपर्न सक्छ, जस्लाई आवश्यक त्यसैलाई मन पर्ने कुरा हो ट्रेड युनियन, ट्रेड युनियन मासिँदैन, मास्न माइँदैन,’ उनले भने ।



































