सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत
वि.सं.२०८२ कात्तिक ३० आइतवार १९:४७
shares

काठमाडौँ । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये ४ जनाले राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, बेलायतका चन्द्रकुमार घिमिरेले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा दिएका थिए ।
सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेस गरेका थिए । सो राजीनामा स्वीकृत भएको जनाइएको छ । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्र नेपाल आइपुग्ने गरी विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो ।
तर त्यसको भोलिपल्ट अर्थात १७ गते परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएको थियो । केही राजदूतहरूले भने परराष्ट्र मन्त्रालयमा गएर हाजिर गर्दै दिन बिताउने गरेका छन् । रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान भने फिर्ता भएका छैनन् । उनी अस्वस्थ भएका कारण बिदा लिएर उतै उपचार गराइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उनी पनि फिर्ता हुने प्रक्रियामा रहेका छन् । राजदूत चौहानका ठाउँमा दूतावासका सहचारी कसम पोखरेलले कार्यवाहक भएर काम गरिरहेका छन् ।





































