संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन
वि.सं.२०८२ पुस ४ शुक्रवार १४:२१
shares

काठमाडौं । नारायणगोपालका समकालीनका रूपमा परिचित प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । पुस ३ गते राति १० बजे उनको निधन भएको छोरा राजेश्वरमान श्रेष्ठले जानकारी दिएका हुन् ।
वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका छोरा हुन् ।श्रेष्ठ नेपाली आधुनिक, भजन तथा नेपाल भाषाका गीत–संगीत क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित छन् । उनी नारायणगोपालका पारिवारिक मित्रसमेत थिए ।
वि.सं. २०१७ सालदेखि औपचारिक रूपमा भजन तथा संगीत सिर्जनाको यात्रा सुरु गरेका श्रेष्ठका रेडियो नेपालमा मात्र करिब ३५० वटा भजन रेकर्ड छन् । यसका अतिरिक्त उनले केही राष्ट्रिय गीत तथा लोकगीतहरूमा पनि संगीत तथा स्वर दिएका छन् ।






































