गगन थापा र विश्व प्रकाशले मागे विशेष महाधिवेशन
वि.सं.२०८२ पुस ११ शुक्रवार १६:३४
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले १५ औँ महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन आयोजना गरिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधरहरूको ज्ञापन पत्र बुझ्दै उनीहरूले पुस भित्र नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुने बताएका हुन् ।‘पुसभित्र नियमित महाधिवेशन हुने हो भने विशेष महाधिवेशन मागकर्ता ५४ प्रतिशत प्रतिनिधिहरूको माग सम्बोधन हुने स्थिति थियो । विधान अनुसार पुसभित्र विशेष महाधिवेशन अनिवार्य हुनुपर्छ । अधिवेशन नगरेका कारण अब विशेष महाधिवेशन अनिवार्य दायित्व हो’, महामन्त्री थापाले भने । उनले विशेष महाधिवेशन कसरी गर्ने भन्नेमा केन्द्रीय कार्यालयमा छलफल गरेर निष्कर्षमा पुगिने बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधानमा भनिएको व्यवस्थालाई पालना गर्नु महामन्त्री, केन्द्रीय समिति र कार्यवाहक सभापति समेतको दायित्व रहेको बताए । ‘गगनजी र मेरो धारणा एउटै हो । अब विशेष महाधिवेशनको कार्यतालिका बनाउन कार्यसम्पादन समितिमा प्रस्ताव राख्छौँ’, शर्माले भने ।





































