एरिकाले प्रिमियर लिगमा जितिन रजत पदक
वि.सं.२०८२ माघ १२ सोमवार १७:५३
shares

कराते स्टार एरिका गुरुङले विश्व कराते महासंघ (डब्लुकेएफ) कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन्।
डब्लुकेएफको आयोजनामा टर्कीको इस्तानबुलमा भएको प्रिमियर लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा रजत पदक जितेकी हुन्। एरिका काजकिस्तानकी सोफियासँग ४-२ ले पराजित भईन्।सेमिफाइनलमा इंग्ल्यान्डको वाल्टर्स रोसेललाई ४-१ ले हराएकी थिइन्। त्यसअघि साइप्रसकी जियामुकी थेओदोसियालाई ५-१ हराइन्। पुल चरणमा जापान र चिलीको प्रतिद्वन्द्वीलाई पछि पार्दै एरिकाले क्वाटरफाइनलमा स्थान बनाएकी थिइन्।
यसअघि १९औँ एसियाली खेलकुदको फाइनलमा सोफियाले एरिकालाई हराएकी थिइन्। यस्तै २०औँ एकेएफ च्याम्पियनसिपको सेमिफाइनलमा एरिकाले सोफियालाई पराजित गरेकी थिइन्।एसियाली खेलकुदको करातेमा रजत पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुन्। सन् २०२५ मा मोरक्कोमा भएको कराते वान प्रिमियर लिगमा कास्य पदक जितेकी थिइन्। यस्तै मलेसियामा भएको कराते वान सिरिज ‘ए’मा स्वर्ण पदक जितेकी थिइन्।






























