बाहिरियो बर्षा गराउने प्रणाली, अर्को प्रणाली नआएसम्म मौसम सफा रहने
वि.सं.२०८२ माघ १५ बिहीवार ०९:२१
shares

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बुधबारबाट बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि आजदेखि मौसम खुल्ने बताए । उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।प्रणालीले काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको थियो । विशेषगरी यो प्रणालीले मधेस र कोशी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।
प्रणालीले काठमाडौँमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर, बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरमा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा भएको छ । नेपालको पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात पनि भएको छ । बागमती प्रदेशसहित पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको थियो ।
बुधबार राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको थियो भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको थियो । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वर्षा भएको थियो ।बिहीबार तराई भूभागका धेरै स्थानमा हुस्सु÷कुहिरो रहने, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको हुनसक्ने जनाइएको छ ।
































