लोकप्रियतावादको भ्रमबाट सचेत हुन एमालेले गर्यो आग्रह
वि.सं.२०८२ फागुन २ शनिवार १५:१८
shares

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको भ्रमबाट सचेत रहन आह्वान गरेको छ ।
शनिबार एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख मीनबहादुर शाहीले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने यथार्थप्रति सचेत रहन आह्वान गरेका हुन् । शाहीका अनुसार राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्नेछ ।
विभाग प्रमुख शाहीले सबै मतदातालाई विचार, सिद्धान्त, तथ्य, अनुभव र राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरे । लोकप्रियतावादको प्रभाव विश्वका धेरै देश र दक्षिण एशियाका केही देशहरूमा देखिएको उल्लेख गर्दै उनले नेपालमा दीर्घकालीन स्थायित्व र विकासको मार्ग रोज्नुपर्नेमा जोड दिए ।
‘विश्वभरका धेरै र दक्षिण एशियाका केही देशहरू लोकप्रियतावादको गम्भीर समस्या सामना गरिरहेको यथार्थता हाम्रा अगाडि स्पष्ट छ । तसर्थ, स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग चयन गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।’ शाहीले भने ।




































