यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय
वि.सं.२०८२ फागुन १३ बुधवार १५:०८
shares

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।निर्वाचन प्रहरी घाइते भएमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ ।
चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत ‘कलंकीदेखि वसुन्धरासम्म’को खण्डका लागि आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने निर्णय सरकारले गरेको छ ।परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमणबारे
नेपाल सरकारको प्रतिनिधित्व गर्दै फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद्ले समर्थन (अनुमोदन) गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको छ । सोही अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय पनि सरकारले गरेको छ ।यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्ने सन्दर्भमा जाँचबुझ गर्न गठित आयोगको कार्य अवधि एक महिना थप गरिएको छ ।
सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई चैत्र २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने ‘२१औं इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फ्रेन्स’मा सहभागी हुन स्वीकृति दिइएको छ ।राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई २०८२ फागुन १८ र १९ गते भारतमा हुने ‘रेसिना इनसाइट्स फोरम २०२६’ मा सहभागी हुन सरकारले स्वीकृति प्रदान गरेको छ ।
सरकारले हितमान गुरुङलाई बेलायतका राजाबाट प्रदान गरिने ‘मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री अर्यालले जानकारी दिए ।





































