बालेन सरकार र रास्वपा प्लास्टिकको गुलाफ नहोस्
वि.सं.२०८२ चैत १२ बिहीवार ११:४७
shares

आजदेशि बालेन साह प्रधानमन्त्री बन्दैछन् । जेनजी बिद्रोहले बालेन साहलाई मेयरबाट प्रधानमन्त्री बनाएको यो घटनालाई विश्वले उत्सुकताका साथ हेरिरहेको छ । बालेन साह सबैभन्दा बढी चासो दुई छिमेकी भारत र चीन तथा विश्वशक्ति अमेरिकी राडारको केन्द्रविन्दुमा रहेका छन् । दुई छिमेकीसँगको सम्बन्धलाई समदूरीमा राख्नु, दुबै मुलुकका स्वार्थलाई राष्ट्रिय हितमा खलल नपर्ने गरी संवोधन गर्नु र विश्वशक्तिलाई विश्वासमा लिएरअघि बढ्नु ढुंगा चपाउनु वा काँडेतारमाथि हिड्नुभन्दा गाह्रो विषय हो । यसकारण बालेन साहले विज्ञ, विशेषज्ञहरुको सल्लाह र काविल व्यक्तिहरुको सहयोगमा यो सुशासन ल्याउने जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।
लल्लरी बिल्लरी गाउने, दोष पन्छाउने वा यसो उसो नभएकाले काम गर्न सकिन भन्ने छुट बालेन साहलाई हुनेछैन । सुशासन दिन्छौं, भ्रष्टाचारको अन्त्य गर्छौं, समानता र शान्तिका साथ काम गर्छौं, सहमति र सहकार्यको राजनीति सुरु हुन्छ भनेपछि जेनजी पुस्ताको सपना साकार पार्न त्यही मार्ग हिड्नुपर्छ । भन्नलाई दुईवर्ष विदेश भ्रमण गर्दिन काम गर्छु भनेका छन् । चुनाव प्रचारका क्रममा पनि काम देउ बरु भोट नदेउ भन्ने बालेन साहप्रति झापादेखि महाकालीसम्मका जनताको भर छ, विश्वास छ । त्यो भर र विश्वासले नै घण्टी चिन्हमा जनताले मत ओइ¥याइ दिएका हुन् । त्यो मतको भारी बोक्नु सजिलो छैन । बोक्न तैयार भएर अघि सरेपछि खुट्टा कमाउने मौका पनि हुनेछैन ।
हो, कि त हस्तिनापुरको राज, कि चपरीमुनीको बास । बालेन साहले हिम्मत गरेरै काठमाडौंको मेयर पदबाट झापा पुगेर कहिल्यै चुनाव नहारेका केपी ओलीसँग चुनावी प्रतिस्पर्धा गर्न अघि सरको थिए । उनको यही साहसलाई विश्वले सह्राहना ग¥यो, नेपाली जनताले विश्वास गरे । रास्वपा झण्डै २ तिहाईको बहुमतमा मूलधारको राजनीतिमा हुनुमा पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहको फ्यूजनले काम गरेको छ । रास्वपालाई ५ वर्ष स्थिर शासन गर्ने मौका जनताले दिएका छन् ।
०४६ सालपछिको बहुदल भ्रष्टाचारमा बहुलाएकै हो । २०६३ सालपछिको लोकतन्त्र पनि भ्रष्टाचारमै लुक्न पुगेको हो । देखाउने सुशासन थिएन बहुदल र लोकतन्त्रका शासक, प्रशासक, पार्टीहरुसँग । सुशासन दिन्छु भन्नेहरुले कुशासन दिएकै हुन् । भ्रष्ट राजनीतिमा लुटुपुटु गरेर सुशासक बन्छु भन्नेहरु कुशासक बनेकै हुन् । सुव्यवस्था कुव्यवस्था पार्टी र प्रशासकहरु मिलेर राष्ट्रलाई रुवाएकै हुन्, लुटेकै हुन् । संविधान कागजको खोस्टो बनाएकै हुन् । संसद, सांसद, सरकार, संवैधानिक निकायहरु लोकतन्त्रको मुखुण्डो लगाएर अपराधतन्त्त मच्चाएकै हुन् । यिनकै असक्षमता पटक पटक जनविद्रोह जन्मायो, गत भदौ २३ र २४ को जेनजी विद्रोहको कारक पनि यिनै भ्रष्टहरु नै हुन् ।
कुशासनका हरेक कुडाकरकड, पद्धतिका खियालाई अब फाल्नुपर्नेछ । नेता र पार्टीलाई जनताले चुनावमै पन्छाइदिएकाले, कुशासक पहाड बनेर बाधाका रुपमा उभिन सक्छन्, बालेन सरकारले यो पहाडलाई सम्याउनु छ, सुशासन ल्याउन कानुनी बिधान चलाउनैपर्छ ।
चुनावका बेलामा रास्वपाले जनताका सामु बाचापत्र सार्वजनिक गरेको थियो । जनतासँग करार पनि गरेकै हो । त्यो बाचापत्र र करार झूठा सावित नहोस्, आजको मूल प्रश्न हो यो ।
यो यक्ष प्रश्नलाई रास्वपाले, बालेन सरकारले बिर्सनु भनेको जनताबाट प्राप्त जनादेशको अपमान हुनेछ । रास्वपाको असफलता यही हुनेछ ।
३७ वर्षपछि पहिलोपल्ट राजनीतिक आकाशका अनगिन्ति काला बादलहरूभित्र चाँदीको घेरा देखिएको छ । हुन त पटक पटकको चुनावमा त्यस्तो चाँदीको घेरा देखिएकै थिए । कांग्रेसको रुखै रुख, एमालेको सूर्य नै सूर्य पनि देखिएकै हो । तर ती सबै पानीको फोका सरह देखिए, फुटे, सकिए । शेरबहादुर देउवा ५ पटक, केपी ओली ४ पटक, प्रचण्ड ३ पटक, डा.बाबुराम भट्टराई, खिलराज रेग्मी, माधवकुमार नेपाल, झलनाथ खनालहरु पनि प्रधानमन्त्री भएकै हुन् । सबैले काण्ड मच्चाए, भ्रष्टाचारमा भैंसी आहाल बसेझैं बसे । राजनीतिक परिवर्तन त भयो, जनताको जीवनस्तर झन झन खस्किदै गयो । समाजवादी, सर्वहारावादी, प्रजातन्त्रवादी सबैले आफू र आफन्तलाई बनाए, देश भताभुङ्ग पारेर सकिए । बालेन नेतृत्वको रास्वपाको सरकारले जनआशा, जनअपेक्षा, राष्ट्रको आवश्यकता सुशासन र समृद्धिको उज्यालो मार्गचित्र कोर्न सक्ला कि नसक्ला ? आजको अहं प्रश्न यही हो ।
कांग्रेसका सभापति गगन थापाले भनेका छन्– राम्रा काममा हामी पनि साथ छौं, डढेका नोटदेखि छानबिन गर, छानबिन आयोग बनाउ । जेनजीको आवाजअनुसार साथ दिन हामी पनि सहयोग गछौं ।
हुन त रास्वपासँग पूर्ण बहुमत छ । झण्डै दुई तिहाईको शक्ति छ । सिङ्गो मुलुक, विश्व नै साथमा देखिन्छ । मात्र शासन प्रशासन चलाउने योग्यता र क्षमता देखाउन सक्नुपर्छ । राजनीति त रास्वपाले जित्यो, कूटनीति जित्ने ल्याकत देखाउन सक्नुपर्छ ।
ठूलै उथलपुथलपछि बालेन सरकार बन्दैछ । समाजवादी कांग्रेस नराम्ररी दिग्भ्रमित छ । क्रान्तिकारी नेकपा)माओवादी)को अस्तित्व कसरी बचाउने भन्ने चिन्तामा छ । एमाले धुलोबाट उठ्छौं भन्दैछ । रास्वपाको काँधमा देश र जनताको शिरोभारोको भार आइसकेको छ, त्यसलाई जनताप्रति जवाफदेहीताका साथ कसरी पूरा गर्ने भन्ने रास्वपाको चिन्तन हुनुपर्छ, गफ गर्ने समय रास्वपासँग छैन । आज बालेन साहले सपथ खाएर मन्त्रिमण्डल गठन गरेपछि अग्निपरीक्षा सुरु हुनेछ । आज देखिनै रास्वपाले देखाएका सपना, गर्छु भनेका बाचा पूरा हुने सुरुआत हुनुपर्नेछ । बिहानीले दिनको मौसम बताएझैं आजदेखि नै रास्वपाले केही गर्छ भन्ने छनक देखाउनैपर्छ । किन कि रास्वपा र बालेन साहको यो सरकार न भूतो, न भविष्यति जस्तो हो ।
प्रजातन्त्रका व्याख्याता अब्राहम लिंकनका अनुसार चरित्र रूख हो, प्रतिभा रूखको छायाँ । बालेन नेतृत्वको सरकारले सुरूमै लोसे चरित्र देखायो भने यसको ओह्रालोयात्रा भोलिबाटै सुरु हुनेछ । जनता निराश छन्, उत्साह भर्ने आजदेखि नै हो ।
पद्धतिमा लागेको संक्रमणको अन्त्य र शान्ति बिना समृद्धि सम्भव छैन । सबै राजनीतिक शक्तिहरुसँग संवाद, सहमति र सहकार्यबिना सुशासन पनि सम्भव छैन, स्थिरता पनि असम्भव नै छ । यसकारण भ्रष्टाचारको महामारीसँग लड्न, बिभेद, निषेध र प्रतिषोधले सम्भव छैन भन्ने बुझ्नुपर्छ । यो सरकारले हरेक दिन हरेक दृष्टिले देश स्वस्थ हुँदैछ भन्ने सन्देश दिनुपर्छ । बालेनका लागि यो अनुपम अवशर हो । बालेन बोल्नभन्दा काम गरेर देखाउन चाहने नेता हुन् । उनी शासनमा असली डाक्टर बन्लान् र रोगको जरो पत्ता लगाएर देशलाई स्वस्थ बनाउने ओखतीमूलो गर्लान् भन्ने छ । शक्तिमान सरकारको नेतृत्व गरेका बालेनले जनविश्वासको शक्तिलाई सुशासनमा रूपान्तरण गर्ने ल्याकत देखाएमा जेनजी पुस्तामा उनी अझ ख्यातीमा जम्नेछन् । राजनीति र प्रशासनमा जमेर बसेको माफियाकरणलाई दूधको झिङ्गो मिल्काएझैं मिल्काउन रास्वपाको सम्पूर्ण शक्ति देखिनुपर्ने बेला यही हो । यसैमा सुशासनको अभिष्ट पूरा हुनेछ ।
भाषण मीठा, गुलिया धेरै भए । भाषणले देश बनेन । देशले काम र कामको नतिजा खोजेको छ, परिणाम खोजेको छ । दुश्चरित्र र खोक्रो भाषणले फोहर पारेको देशलाई सुशासनमा ढाल्ने साँचो बन्नुछ बालेनलाई । विद्यमान चुनौतिसँग सिंगौरी खेल्ने साहस रास्वपा र बालेन साहमा देखिनुपर्ने समय आयो ।
राजनेतामा समाज बदल्ने सोच हुनुपर्छ । राजनेताले हिमालबाट उड्ने डाँफेको जस्तो उद्देश्यमूलक बेग हान्नुपर्छ । सक्षम त्यस्तो नेतृत्वले अवशरको सदुपयोग गर्छ र राष्ट्रिय स्वार्थमा आफूलाई उभ्याएर लक्ष्यभेदन गर्छ । जसरी सिंगापुरमा लीक्वान युले आफूलाई देश निर्माणमा समर्पित गरे । त्यस्तो हुन्छ देशभक्ति, स्वाधीन नेता । नेपाल बन्न नसकेको स्वार्थको विकास भयो, नेतृत्वको विकास नभएर हो । देशमा नेता धेरै छन्, राजनेता छदैछैनन् । नेताहरु भ्रष्ट र अनैतिक भए । हाम्रा होनहार नेताका मुख शान्ति, समृद्धि र सुशासनतिर भएन, राजनीतिक अपराधकर्मतिर भयो । देश दुर्गतिको भासमा फस्यो । बालेन सरकार र रास्वपा प्लास्टिकको गुलाफजस्तो नहोस् ।





































