एकल पार्टीको बहुमतको सरकार पनि ढलेको हेक्का रास्वपालाई होस्
वि.सं.२०८२ चैत १२ बिहीवार ११:४८
shares

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झण्डै दुई तिहाई मत पाएको रास्वपाले सरकार निर्माण हुनु अघि नै त्रासको वातावरण फैलाउन लागि परेको जस्तो देखिएको छ ।
सम्वैधानिक निकाय लागयत अन्य विभिन्न निकायमा अघिल्लो सरकारले गरेका नियुक्तिहरुमा रहेका व्यक्तिहरुलाई राजिनामा दिन आग्रह गरेपछि विवाद उत्पन्न भएको छ । सम्वैधानिक निकायहरुमा सम्वैधानिक परिषद्ले सिफारिस गरेपछि संसद अन्र्तगत रहेको संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि मात्र अनुमोदित व्यक्तिलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था संविधानमा रहेको छ ।
सम्वैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने भएपनि सदस्यहरुमा प्रधानन्यायाधिश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता गरी ६ जना हुने व्यवस्था रहेको छ । प्रधानमन्त्री र सभामुख रास्वपाका हुने भएपनि राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रास्वपाबाट हुन सक्ने व्यवस्था नरहेकाले सम्वैधानिक परिषद्मा सरकार र विपक्षीहरु आधा आधा हुने भएकाले सरकारले एक्लै नियुक्ति गर्न सक्ने अवस्था देखिँदैन । विपक्षी दलहरुलाई समेत साथमा लिएर अघि बढ्नुको बदला अहिले सम्वैधानिक निकायका पदाधिकारीहरुलाई राजिनामा देउ भनेर त्रास देखाउनुले रास्वपा समेत प्रतिशोधको मार्गतर्फ उन्मुख हुन सक्ने सम्भावना देखिन्छ । सरकारले संविधान, विधिको शासन र मूल्य मान्यतालाई ध्यानमा राखेर संसदमा रहेका दलहरु र संसद बाहिर रहेका वरिष्ठ राजनीतिकज्ञहरुको अनुभवलाई समेत उपयोग गरेर अघि बढेको खण्डमा मात्र रास्वपा नेतृत्वको सरकार सफल हुन सक्छ ।
रास्वपा सरकारको पहिलो काम भनेको भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा भएको घटना र भाद्र २४ गते भएको विध्वसात्मक कार्यका छानविन गरी उक्त घटनामा जोसुकै संलग्न भएका भएपनि उनीहरुमाथि कानुनी कारबाही अघि बढाउनुपर्ने दायित्व रहेको छ । तर भाद्र २४ गतेको घटनामा संलग्न रहेका व्यक्तिहरु नै अहिले रास्वपाबाट उम्मेदवार बनेर सांसदमा निर्वाचित भएकाले उनीहरुमाथि कानुनी काबराही हुन सक्ने सम्भावना न्यून देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई सबै दोष लगाएर रास्वपा उम्किन सक्ने अवस्था देखिँदैन । त्यसैले गर्दा अब कसैमाथि प्रतिशोध लिने प्रयास गर्नुभन्दा सबै राजनीतिक दलका शिर्ष नेताहरुको सहयोग समर्थन लिएर मुलुकमा उत्पन्न भएका समस्याहरुको समाधान गरी रास्वपाले निर्वाचनका बेला जनतासामू गरेका बाचाहरु पूरा गर्ने तर्फ उन्मुख हुनु आवश्यक छ । रास्वपा एक्लै हिड्न खोज्दा मुलुक फेरी दुर्घटनातर्फ जान सक्छ । यसभन्दा पहिलो पनि विभिन्न समयमा बहुमतको सरकार निर्माण भएको भएपनि त्यो सरकार समेत पूरा अवधि चल्न नसकेको इतिहास नै साक्षी रहेका हेक्का रास्वपाले राख्नै पर्दछ ।





































