एमाले नेता बादलको प्रश्न : दलाई लामाले किन बारबरा सरकारलाई शुभकामना दिए ?
वि.सं.२०८२ चैत २६ बिहीवार ०९:०९
shares

काठमाडौं । नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले भदौ २३ र २४ गतेको घटना योजनाबद्ध रूपले गराइएको दाबी गरेका छन्।
कास्की पुगेका कार्यवाहक अध्यक्ष थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भदौ २३–२४ गतेको घटनामा टीओबी किन देखा परे ? भन्दै प्रश्न गरे।उनले भने, ‘भदौको फ्री तिब्बतको नारा ती टीओबीहरुले किन लगाए ? दलाई लामाले बारबरा सरकारलाई किन शुभकामना दिए ? तपाईँले त्यहाँ सोच्नुभएको छ ? त्यसकारणले यो सत्तापल्टमा यो सबै चिज डिजाइन गरे उनीहरूले।’
उनले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको प्रणाली ल्याउनेहरूमाथि प्रहार भइरहेको बताए।
उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा २०७४ देखि हामीले जे गरेका थियौँ, त्यसबेला नेकपा एमालेको नेतृत्वमा ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि दर थियो। द्रुत गतिमा विकासको दिशातिर गइराखेको थियो। नेकपा एमाले अथवा अरू राजनीतिक दलहरूले पनि नाकाबन्दीको विरुद्ध चाहिँ उनीहरू चट्टानझैँ उभिए। बाह्य शक्तिहरूको एकाधिकारलाई, रिसोर्सेज कब्जा गर्ने र यहाँको मार्केट कब्जा गर्ने र नेपाललाई आत्मसमर्पण गराउने दबाब दिएका थिए, त्यसमा नेकपा एमाले लगायतका अरू राजनीतिक दलहरू चट्टानझैँ उभिए। त्यसकारण उनीहरूलाई सिद्ध्याइएको हो।’
उनले भदौको घटना योजनाबद्ध रूपमा गरिएको भन्दै प्रश्नै प्रश्न उठाए।उनले थपे, ‘किन नेकपा एमालेका कार्यालय जलाइयो ? हाम्रो अध्यक्षको निवासहरू जलाइयो, माओवादीको अध्यक्षको निवास किन जलाइयोरु कार्यालय किन जलाइयो ? कांग्रेसको कार्यालय किन जलाइयो ? तिनका नेताहरूका निवासहरू किन जलाइयो ? किन उनीहरूमाथि भौतिक साङ्घातिक आक्रमण गरियो ? त्यो लामो तयारीको साथमा एउटा डिजाइनमा गरिएको थियो।’



































