बैक खाताको रकम चोरीका घटना बढ्यो, सचेत रहन साइबर ब्युरोको आग्रह
वि.सं.२०८३ वैशाख २३ बुधवार ०८:५२
shares

पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले मंगलबार (२२ वैशाख) जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ ।ती गिरोहहरूले ‘कनेक्ट आइपिएस’ जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सन्देशमा ‘तपाईंको खाता लक गरिएको छ’ भन्दै पुनः पहुँच प्राप्त गर्न ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न शङ्कास्पद लिङ्कहरू पठाइन्छन् । प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत विवरण सङ्कलन गरी बैङ्क खातामा अनधिकृत पहुँच पुऱ्याइ ठूलो मात्रामा रकम चोरी गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ ।ब्यूरोले यस्ता साइबर अपराधबाट जोगिनका लागि केही महत्त्वपूर्ण सुझावहरू पनि दिएको छ । शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्ने, बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक ‘वेबसाइट’ वा ‘एप’ मात्र प्रयोग गर्ने, आफ्ना गोप्य बैङ्किङ विवरण कसैसँग पनि साझा नगर्ने तथा कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी, साइबर ब्यूरो वा सम्बन्धित बैङ्कमा जानकारी गराउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
साइबर अपराधको जोखिम दिनप्रतिदिन बढ्दै गइरहेको सन्दर्भमा सचेतना र सावधानी नै सुरक्षित रहने प्रमुख उपाय भएको ब्यूरोले उल्लेख गरेको छ ।साइबर ब्यूरो भोटाहिटीको टोलीले साइबर ब्यूरोको नाम लिएर अनलाइन घोटाला (ठगी) गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई तथा सुनसरी इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘साइबर ब्यूरो भोटाहिटीको नाम दुरूपयोग गरी ट्रूकलरमा समेत साइबर ब्यूरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर, त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई बिद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनी पीडित व्यक्तिहरूको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।’
प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा निज चार जनाको संलग्नता खुल्न आएकाले साइबर ब्यूरोबाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वय एवं सहयोगमा पक्राउ गरेको ब्यूरोले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय माध्यम सम्बद्ध ठगीअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता गिरीले बताए ।





































