इटहरीमा निकालियो सद्भाव र्याली
वि.सं.२०८३ साउन १३ बुधवार १२:२७
shares

काठमाडौं । शान्ति सुव्यवस्था कायम गराउन पहल गर्दै सुनसरीको इटहरीमा सद्भाव र्याली निकालिएको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न जनस्तरबाट प्रयास हुनुपर्ने उद्देश्यसहित र्याली आयोजना गरिएको बताइएको छ ।
नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको र्यालीले इटहरी उपमहानगरपालिका क्षेत्रका विभिन्न बजार र चोक परिक्रमा गरेको थियो ।सहभागीले झडप र हिंसाबाट समाधान ननिस्कने भन्दै अमनचयन र सामाजिक सद्भाव कायम गराउन आह्वान गरेका छन् ।
आइतबार (साउन १०) राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच झडप भएको थियो । तनाव नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइँदा कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा अरू केही व्यक्ति पनि घाइते छन् । उनीहरूको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।





































