बाढी प्रभावित ५ जिल्लाका १५ स्थानिय तह विपद संकटग्रस्त क्षेत्र घोषित
वि.सं.२०८३ भदौ १३ शनिवार ११:२८
shares

काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पाँच जिल्लाको १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार सरकारले राजपत्रमार्फत सो घोषणा गरेको हो ।
तिब्बत हुँदै नेपाल पसेको प्रलयकारी बाढीले ठूलो क्षति पुर्याएको रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ । जसअनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ्मो गाउँपालिका तथा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका विपद्ग्रस्त क्षेत्र घोषित भएको छ ।
त्यस्तै, धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको दुई स्थानीय तह (देवघाट र आँबुखैरैनी गाउँपालिका) रहेको राजपत्रमा उल्लेख छ ।
सरकारले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा प्रलयकारी बाढीको क्षति भोगेका ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्दै उद्धार, राहत र पुनर्मार्माणमा केन्द्रित हुने जनाएको छ ।





































