पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते काठमाडौंमा हुने, ३ हजार ५१४ जना सहभागि हुदैँ

871
shares

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जनाको सहभागिता रहने भएको छ । सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।

महाधिवेशनपछिको ठूलो जमघट, स्थानीय निर्वाचन मुख्य एजेन्डा

प्रचार विभाग प्रमुख आचार्यका अनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीका पदाधिकारीदेखि केन्द्रीय नेतृत्व र स्थानीय तहदेखि सङ्घीय संसद्सम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुन लागेका हुन् । सहभागी सङ्ख्याका आधारमा यसलाई महाधिवेशनपछिको सबैभन्दा ठूलो कार्यक्रमका रूपमा लिइएको छ ।

भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र सङ्गठनात्मक एकतालाई थप सुदृढ बनाउनु रहेको छ । साथै, मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्यसमेत भेलाले राखेको छ ।

अध्यक्ष ओलीद्वारा उद्घाटन, विद्यादेवी भण्डारीको विशेष सम्बोधन

मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण तथा केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ वटा कामको कार्यान्वयनबारे राजनीतिक एवं वैचारिक मार्गनिर्देशन गर्नेछन् ।

यसैगरी, पार्टीकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्ने कार्यतालिका छ । भेलामा उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी कार्यपत्र र अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नेछन् । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्नेछन् ।

सहभागी र व्यवस्थापकीय तयारी

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र जनसङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ । जनप्रतिनिधितर्फ सङ्घीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुख, पालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरू सहभागी हुनेछन् । भेलामा सहभागी सबैबाट आगामी स्थानीय निर्वाचनकेन्द्रित सुझावसमेत लिखित रूपमा सङ्कलन गरिनेछ ।

भेलाको सुरक्षा र व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूले आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि असहज हुनेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष र च्यासलस्थित पार्टी कार्यालयमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई सभाहलमै पहुँच दिइनेछ भने बन्दसत्रका गतिविधिबारे प्रचार विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने एमालेले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports