kumari
stcnepal

दुई कार्यकाल भन्दा बढी बीमा कम्पनीमा सञ्चालक बन्न नपाइने निर्देशिकामा संशोधन

काठमाडौं । बीमा कम्पनीमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको बताए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको दाबी छ ।

बीमा समितिले आइतबार मात्रै यस्तो निर्णय गरेपछि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने असर गरेको छ । नेपाल लाइफले सोमबारका लागि साधारण सभा बोलाएको थियो । साधारण सभाले सञ्चालक समितिको निर्वाचन समेत गर्ने तयारी गरेको छ । सञ्चालक चयनमा समेत सर्वसहमति जुटाएर हालका वर्तमान अध्यक्ष गोविन्दलाल संघईलाई पुनः अध्यक्ष बनाउने तयारी गरिएको थियो । बीमा समितिको यो निर्देशनले संघई अब सञ्चालक निर्वाचित हुनसक्ने छैनन् । नेपाल लाइफको साधारणसभाको पूर्वसन्ध्यामा आउको यस्तो निर्णयले नेपाल लाइफका अध्यक्ष संघई सहित अरु तीन जना सञ्चालकहरु पुनः सञ्चालक हुन नसक्ने भएका छन् ।

‘आजै एक्कासी निर्देशिका संशोधन हुनु भनेको नेपाल लाइफलाई कमजोर पार्न खोजिनु हो, बीमा समितिको निर्णयले अब हाम्रा ४ जना सञ्चालकहरु भोलि सञ्चालक निर्वाचित हुन सक्नुहुन्न’ कम्पनीका एक सञ्चालकले  भने । नियामक निकायको निर्णय भएकाले नेपाल लाइफले निर्णय मान्नुको विकल्प छैन । अब नयाँ योजना बनाएर सञ्चालकमा नयाँ अनुहार ल्याउने गरी आइतबार साझ नै सञ्चालकहरु बीच छलफल गर्ने तयारी छ । छलफलमा सञ्चालक कसलाई बनाउने भन्ने विषयमा ठूला लगानीकर्ताहरु बीच विवाद भए भोलिको साधारणभा केही पर धकेल्न सकिने उनले बताए ।

‘हामी आजै छलफल गर्दैछौं, नयाँ सञ्चालक ल्याउन सहमति जुट्यो भने भोलि साधारणसभा हुन्छ,’ ति सञ्चालकले भने, ‘आज सहमति जुटेन भने भोलि बोलाइएको साधारणसभा स्थगित गर्नेछौं ।’

 

 

 

footer