kumari
stcnepal

नेपाल लाइफले १४ प्रतिशत बोनस शेयर दिने, शेयर धनी ठगिदै

वीरगञ्ज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको मुनाफा बाट आफ्ना लगानीकर्ताका लागि १४ प्रतिशत बोनस शेयर पारित गरेको छ । साथै कम्पनीले कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी आठ अर्ब २० करोड ७९ लाख रुपियाँ हुनेछ । उक्त चुक्ता पूँजी बीमा क्षेत्रकै सबैभन्दा धेरै हो । कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्द संघाईले गएको आर्थिक बर्षमा कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए ।

उनले २१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौति बीच नयाँ उचाइमा अगाडि बढाउन सकेको भन्दै, संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने बताए ।

कम्पनीका सीईओ प्रवीणरमण पराजुलीले बीमा समिति बाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । उनले सम्पत्ति र दायित्व बीच सन्तुलन कायम गर्न पूँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालिन पूँजीगत लगानीका लागि ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको जानकारी दिए ।

अहिले नेपाल लाइफको लगानी एक खर्ब ३३ अर्ब ८६ करोड रूपियाँ रहेको छ भने जीवन बीमाकोषमा १२४ अर्ब, शेयरधनी कोषमा नौ अर्ब ६७ करोड रूपियाँ रहेको छ । कम्पनीमा दुई लाख भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र देशभर २०२ कार्यालय रहेको कम्पनीले जनाएको छ ।

 

footer