kumari
stcnepal

भक्तपुरमा बिस्केट जात्रा आजबाट सुरु हुँदै

काठमाडौं । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने सांस्कृतिक एवं ऐतिहासिक महत्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट सुरु हुँदैछ । आज साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो टोलमा तानेर लैजाने परम्परा छ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।
बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । बिस्का जात्राको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिंगो ढालिन्छ । लिंगो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । लिंगो ढालिसकेपछि भैरवनाथ र भद्र्रकालीको रथलाई गाहिटी पु¥याई एकापसमा जुधाइन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ । विगतमा बिस्केट जात्रामा हुलदंगा र ढुंगा हानाहान हुने गरेकाले विशेष सुरक्षा प्रवन्ध मिलाइएको भक्तपुर प्रहरीले जनाएको छ ।

जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ ।

रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न ९५० नेपाल प्रहरी, ४०० सशस्त्र प्रहरी परिचालन गरिने छ । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने प्रजिअ शर्माको भनाई रहेको छ ।

 

footer