विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिका माथिको हस्तक्षेप भएको एमाले महासचिव पोखरेलको टिप्पणी
वि.सं.२०७९ जेठ १३ शुक्रवार १०:३१
shares

काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिका माथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले बिहीबार मात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरेलले यो फैसला न्यायिक दृष्ट्रिले त्रुटिपूर्ण रहेको जिकिर गरेका हुन ।
वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारी भूमिकामै हस्तक्षेप गर्नुले न्यायिक प्रणाली प्रतिको आस्था कमजोर बनाउने उनको भनाइ छ ।
‘वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारीको भुमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु वुझिनसक्नुको न्यायिक सकृयता हो,’ महासचिव पोखरेलले भनेका छन्, ‘ यसप्रकारको फैसलाले न्यायिक प्रणाली प्रतिको आस्था र विश्वासलाई कमजोर बनाउछ । राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत वाधा पुर्याउँछ ।’




































