kumari
stcnepal

८४ वटा सञ्चारमाध्यममा आचारसंहिता बिपरितका समाचार : प्रेस काउन्सिल

काठमाडौं ।प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ । यहीँ कात्तिक २९ गते बेलुका ५ बजे सम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका मध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टल बाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो ।

काउन्सिलले त्यस मध्ये छ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधेको जनाएको छ । दर्ता/सूचीकरण नभएका पाँच वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने तीन अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ । मिडिया अन्तर्गत केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ ।

काउन्सिलले सबै प्रावधान तर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्न/गराउन सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको ध्यानाकर्षण गराएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसा योग्य बन्नुपर्ने बताए ।

footer