शेखर कोइरालाले पनि गरे अध्यादेशको बिरोध
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:२१
shares

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला रेशम चौधरीलाई रिहा गर्नका लागि सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिएका छन्। डा. कोइरालाले सरकारले ल्याएको अध्यादेशले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको टिप्पणी गरेका छन्।
अदालतले दोषी ठहर्याएका व्यक्तिलाई छुटाउनकै लागि कानुन बंग्याउने छुट कसैलाई नभएको कोइरालाको भनाइ छ। उनले सोमबार सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘अध्यादेश मार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो। आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’
सरकारले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिने भन्दै आइतबार अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। यसअघि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अध्यादेशको विरोध गरेका थिए। सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने उनीहरुको माग छ।





































