निर्वाचन आयोगको बिरूद्ध बालेन साह पुगे सर्वोच्च अदालतमा
वि.सं.२०७९ पुस १९ मंगलवार १४:३०
shares

काठमाडौं। निर्वाचन आयोगेको निर्णय विरुद्व काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतमा मुद्वा दायर गरेका छन् । मंगलबार दिउँसो सर्वोच्च पुगेर साहले संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन्। निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो। मेयर साहलाई आयोगले ७ लाख ५० हजार जरिवाना तोकेको छ ।
‘आयोग बाट भएका कामकारवाही, म्याद भित्रै खर्च विवरण बुझाएको तथ्यलाई समेत अनदेखा गरी ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने लगायत निर्णय, त्यस्तो जरिवाना रकम जनही रुपमा ६ महिना भित्र (अर्थात् २०७९ फागुन मसान्त सम्म) नबुझाएमा ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने गरी भएको निर्णय तथा निर्वाचित व्यक्ति भए निज स्वत: पदमुक्त हुने सम्बन्धी काम कारवाही, सो सम्बन्धी भए गरेका वा हुने अन्य सम्पूर्ण काम कारवाही प्रतिषेधयुक्त उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,’ बालेनले दायर गरेको रिट निवेदनमा उल्लेख छ।
मेयर साहले खर्च विवरण बुझाउन दिइएको अन्तिम दिनमा शनिबार परेको र भोलिपल्ट आइतबार आफूले खर्च विवरण पेश गरेको निवेदनमा उल्लेख गरेका छन् ।



































