ट्रायल पास गरेकाले लाइसेन्स नपाउने, कार्ड ल्याउन कम्तीमा २ महिना लाग्ने
वि.सं.२०७८ भदौ २० आइतवार १२:०२
shares

काठमाडौँ ।
कोभिडको दोस्रो लहरसँगै वैशाखदेखि रोकिएको लाइसेन्स वितरणको काम अझै ढिलाइ हुने भएको छ । आयातका क्रममा रहेको लाइसेन्स कार्ड स्वीकृतिमा ढिलाइ भएसँगै लाइसेन्स वितरण समेत पर धकेलिएने देखिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लाइसेन्स कार्ड आयात हुन अझै कम्तीमा डेढ महिना लाग्ने बताए । उनले सक्दो चाँडै लाइसेन्स कार्ड आयात गरी वितरण शुरु गर्ने बताएका हुन् । आयात गर्न लागिएको कार्डको स्याम्पल स्वीकृत भएको छैन, स्वीकृत भएको ९० दिनभित्र कम्पनीले लाइसेन्स कार्ड ल्याउनेछ,’ महानिर्देशक घिमिरेले भने, ‘स्याम्पल नमिलेकोले अडर गर्न ढिलाइ भएको हो, अब चाँडै आयात हुनेछ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स कार्ड) आयात गर्दैछ । फ्रान्सबाट आयात गर्न लागिएकोे उक्त स्मार्ट लाइसेन्स स्यामपल स्वीकृत भएको ९० दिनभित्र आयात गरिने भएको हो ।
यस आधारमा यसअघि ट्रायल पास गरेकाले दशैंअघि लाइसेन्स सम्भावना नरहेको देखिन्छ । विभागले १४ लाख स्मार्ट कार्ड खरिद गर्न लागेको हो । विभागले २०७७ मंसिरमा फ्रान्सेली ‘सेल्प कम्पनी’ लार्ई ठेक्का दिएको थियो । उक्त कार्ड १२ लाख ४ हजार डलर (करिब १४ करोड रुपैयाँ) मा खरिद गर्न लागिएको विभागले जनाएको छ । हाल स्मार्ट कार्ड अभावका कारण नवीकरण तथा स्मार्ट लाइसेन्स प्रिन्टका काम हुन सकेका छैनन् ।



































