kumari
stcnepal

सुदूरपश्चिममा भीम रावल होइन अब माधव नेपाल

काठमाडौँ ।
जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो । केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए । सभामुखसहित २५ जना सांसद रहेको एमालेका बहुसख्यक सांसदले मत दिएकै कारण भट्टको सत्ता टिकेको हो । ५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन् । भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो । किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए । अछामका रावलको सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो पकड रहेकाले उनैको साथमा प्रदेश सभाका सांसदले अध्यक्ष ओलीको निर्देशन लत्याइदिएको धेरैको अनुमान थियो ।
एमालेको अन्तरसंघर्ष चर्किँदै गएर पार्टी विभाजन भएको छ । माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी)पार्टी गठन गरेका छन् । नेपालले पार्टी विभाजन गर्दा रावलले उनलाई साथ दिएनन्। उनी अहिले ओलीसँग निकट छन् । ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो

तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन् । रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । ४ जना सांसदमात्रै रावलझैं एमालेमा बसेका छन् । आफ्नो पक्षमा १४ सांसद रहने एकीकृत समाजवादीको दाबी छ । त्यो अवस्थामा एकीकृत समाजवादी प्रदेश सभाको सबैभन्दा ठूलो दल हुनेछ भने रावललाई जम्मा तीन जना सांसदले साथ दिनेछन् । जेठ २५ यता रावल बदलिए तर रावललाई साथ दिएका सांसद बदलिएनन ्। रावलले ओली रोजे पनि सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी पार्टी ठूलो बनेको छ । कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित १२ सांसदमा खुम्चिएको छ । ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो । रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ ।

 

footer