मनाङबाट निर्वाचित काग्रेसका सासद गुरूङ भ्रष्टाचारी ठहर
वि.सं.२०७९ फागुन १७ बुधवार ०८:१९
shares

मनाङबाट प्रतिनिधिसभा सांसद निर्वाचित नेपाली कांग्रेसका टेकबहादुर गुरूङ र पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर्याएको छ। काठमाडौंको भृकुटीमण्डप स्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपाने सहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर गरेको हो। दोषी ठहरिएकाहरूलाई सजाय तोक्न भने बाँकी छ।
गुरूङले मनाङ बाट सांसद जिते पनि उनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले सांसद पद निलम्बित थियो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा १४ जना विरूद्ध मुद्दा दायर गरेको हो। ती मध्ये ५ जनालाई अदालतले सफाइ दिएको छ। गुरूङ त्यो बेला फनपार्कका मेला सञ्चालक थिए भने न्यौपाने तालुकवाला महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थिए। दोषी ठहरिएका अरू ७ जना समाज कल्याण परिषदका तत्कालीन सदस्य-सचिव रवीन्द्रकुमार यादव, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारी प्रसाद चौधरी लगायत छन्।
आयोगले फनपार्कको जग्गा ठेक्का प्रकरणमा २ अर्ब ८३ करोड ६८ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै उनीहरू विरूद्ध मुद्दा दायर गरेको थियो। ठेक्का लिँदा मिलेमतो भएको अख्तियारको दाबी थियो। सम्पूर्ण कर सहित ५ लाख ५५ हजार भाडा तथा समयावधि बढाएर १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न ठेक्का दिने निर्णय गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ। सरकारले कुनै पनि कामको ठेक्का गर्नुपरे टेन्डर आह्वान गर्नुपर्नेमा त्यसबमोजिम नगरिएको पनि अख्तियारले भनेको छ।



































