दाङका एकिकृत समाजवादीका नेताहरू एमालेमा फर्किए
वि.सं.२०७९ चैत २४ शुक्रवार ०७:३६
shares

दाङ – दाङमा सामूहिक रुपमा एकीकृत समाजवादी परित्याग गरेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। एकीकृत समाजवादीकी केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, मेटमणी चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी, स्वकीय सचिव गौरवसिंह महरा, नेताहरु सीता चौधरी, हिमाल अधिकारी र किसन भट्टराई एमालेमै फर्किएका हुन्।
नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतका नेताहरुले उनीहरुलाई एमालेमा स्वागत गरे। उनीहरुले एकीकृत समाजवादी भित्र स्वेछाचारी प्रवृत्ति मौलाउँदै गएको भन्दै चैत ४ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए।
‘एकीकृत समाजवादी पार्टीको भविष्य छैन। कुनै पार्टीमा विलय हुन्छ या यसै सकिन्छ,’ एमालेमा फर्किँदै युवा नेता केसीले भने,‘समय परिवर्तनशील छ। त्यसैले विचारमा पनि परिवर्तन आउन जरुरी छ। हामी हाम्रो पुरानै घरमा फर्कियौँ। यहाँबाटै नेपाली जनताको न्याय, समानता र मुक्तिको संघर्षमा अघि बढ्छौँ।’ मूल घरमा फर्किएकाहरुलाई उचित जिम्मेवारी दिइने एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले बताए।






































