विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर बालेन साहको अभिव्यक्तिले अराजकताको सीमा नाघ्दै छ ,सरकार गम्भीर बनोस् : दलका नेताहरू

611
shares

काठमाडौँ । शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ३ वटा सन्देशले तरङ्ग सिर्जना गरेको छ । उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका छन् । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरू प्रति लक्षित थियो । उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

यस्तै उनको दोस्रो सन्देश भने प्रहरीले महानगरपालिकाका फुटपाथ मिचेको बारेमा छ । शाहले महानगरपालिका भित्रका विभिन्न वडामा सडक अतिक्रमण गरी बनाइएको प्रहरी बिट हटाउन चेतावनी दिएका छन् । उनले ती प्रहरी बिटको फोटो सहित लेखेका छन्– ‘फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ । राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ । कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

यस्तै उनको तेस्रो झटारो सरकारप्रति थियो । उनले भारत र चीनले बनाइदिएको सरकारको कुनै इज्जत नगर्ने भन्दै नेपाल कहिले स्वाधीन हुने भन्दै प्रश्न गरेका थिए । उनले लेखेका छन्– ‘भारत र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म । नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

काठमाडौँ महानगर प्रमुखको धारावाहिक रूपमा राजनीतिक दलका नेता र सरकार लक्षित यस्ता अभिव्यक्ति आउन थालेपछि दलका नेताहरूले टिप्पणी गर्न थालेका छन् । एमाले महासचिव शङ्कर पोखरेलले ट्विटर मार्फत बालेनको अभिव्यक्तिको विरोध गर्दै जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही हुनुपर्ने बताएका छन् । उनले भनेका छन्– ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जबाफदेही बन्नै पर्दछ ।’

यस्तै नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले ट्विटरमा भनेका छन्– ‘काठमाडौँका मेयर बालेन साहको अभिव्यक्तिले अराजकताको सीमा नाघ्दै छ । सरकार गम्भीर बनोस् । सिंहदरबारका सबैलाई खाल्टोमा पुर्ने भनिएको लगायतका अभिव्यक्ति आपत्तिजनक छन् ।’ सामाजिक सञ्जालमा राजनीतिक दलका नेता कार्यकर्ताले उनको अभिव्यक्तिप्रति आपत्ति जनाइरहेका बेला उता धरान उपमहानगरपालिका मेयर हर्क साङपाङ् राईले भने समर्थन गरेका छन् । मेयर राईले लेखेका छन्– ‘मेयर बालेन झुकेगा नहि, अब भष्टचारको पोकोलाई तह लगाउनै पर्छ ।’

शुक्रवार महानगरपालिकाले काठमाडौँको तीनकुने नजिकै रहेको गैरी गाउँको सुकुम्वासी बस्ती हटाउन डोजर लगेको थियो तर सुकुम्वासी आन्दोलनमा उत्रिएपछि महानगर पछि हटेको थियो । मेयर शाहले पटक–पटक बागमती नदी किनारमा बसेका सुकुम्वासीलाई हटाउन सहयोगका लागि सरकारलाई आग्रह गरिरहेका छन् । तर सरकारले भने उनको आग्रहलाई टेर पुच्छर लगाएको छैन । यसअघि पनि उनले थापाथली स्थित बागमती नदी किनारमा बसेका सुकुम्वासी बस्ती हटाउन अघि सर्दा केही नगर प्रहरी घाइते भएका थिए । सुकुम्वासी बस्ती हटाउन सरकारको सहयोग नपाएपछि उनी आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports