धनुषा प्रहरी विरुद्ध एमालेको प्रर्दशन
वि.सं.२०८० असार ३ आइतवार ०६:५७
shares

जनकपुरधाम । धनुषामा नेकपा एमालेका कार्यकर्ताले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । एमाले कार्यकर्तालाई फसाउन खोजेको आरोप लगाउँदै केन्द्रीय सदस्य उमाशंकर अरगरिया नेतृत्वमा नेता कार्यकर्ताले जनकपुरधामको भानुचोक देखि जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।
शुक्रबार दिउँसो एक समूहले धनुषाका शिक्षा विकास तथा समनन्वय इकाइका प्रमुख युक्तप्रसाद शर्मालाई कालोमोसो दलेको थियो । सोही घटनालाई लिएर आफ्ना कार्यकर्ता माथि कारबाही अघि बढाउने संकेत पाएर एमालेले प्रहरी विरुद्ध प्रदर्शन गरेको स्रोतको दाबी छ । धनुषाका एमाले अध्यक्ष राजकिशोर यादवले प्रहरीले एमाले कार्यकर्ता माथि वैरभाव राखेको र विभिन्न घटनामा फसाउन खोजेकाले खबरदारी गरेको बताए । एमाले जिल्ला अध्यक्ष यादवले शर्माले अनियमितता र बदमासी गरेको पनि दाबी गरे ।
‘अनियमित काम बदमासी गर्दा प्रमुखलाई अज्ञात युवा समूहले कालोमोसो दले । यो घटनामा पनि एमालेका नेताकार्यकर्ता फसाउँन खोजेका छन् । अन्य घटनमा पनि एमाले नेता ताकी ताकी फसाउन खोज्छन्’ उनले भने । यादवले धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का कांग्रेसको कार्यकर्ता जस्तो बनेको टिप्पणी गरे ।




































