आज बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति
वि.सं.२०८० असार १९ मंगलवार १२:५२
shares

काठमाडौं । सभामुखको आह्वानमा आज बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय समितिका सभापतिहरुको सन्दर्भमा पुरानै सहमति कार्यान्वयन गर्ने सहमति भएको छ ।
यसअघि शीर्ष नेताहरुबीच सार्वजनिक लेखा समितिसहित तीन संसदीय समितिको सभापति प्रमुख प्रतिपक्षी नेकपा एमालेले लिने र बाँकी सत्ता गठबन्धनबीच बाँडफाँट गर्ने सहमति भएको सार्वजनिक भएको थियो । बैठकमा सहभागी कानुन मन्त्री धनराज गुरुङले संसदीय समितिको सभापतिमा पुरानै सहमति कार्यान्वयन गर्ने शीर्ष तहमा सहमति भएको जानकारी दिए । ‘पहिलेकै सहमति कार्यान्वयन हुन्छ,’ मन्त्री गुरुङले भने ।
सिंहदरबार स्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए । सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेका थिए । प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।




































