विश्वकप विजेता टोलीले ट्रफी र पदकसँगै विशेष च्याम्पियनसिप रिङ पनि पाउँने
वि.सं.२०८३ साउन १ शुक्रवार १४:४६
shares

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ। फिफा प्रतियोगिताको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो।
आइतबार, १९ जुलाई, न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि विश्वकप विजेताको घोषणा गरिनेछ। विजेता टोलीलाई प्रतिष्ठित विश्वकप ट्रफी र स्वर्ण पदकका साथै अमेरिकी खेल संस्कृतिमा निकै चर्चित मानिने विशेष च्याम्पियनसिप रिङ पनि प्रदान गरिने फिफाले जनाएको छ।यो रिङको २,०२६ वटा सीमित संस्करण तयार गरिनेछ, जुन विश्वकप २०२६ को सम्मानमा बनाइएको हो। तीमध्ये ३० वटा रिङ विजेता टोलीका खेलाडी तथा टोलीका सदस्यलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ वटा विश्वभरका समर्थकका लागि आधिकारिक लाइसेन्स प्राप्त उत्पादनका रूपमा बिक्री गरिनेछ।
रिङको एकपट्टि फिफा विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्कोपट्टि विजेता राष्ट्रको पहिचान झल्किने गरी विशेष डिजाइन गरिनेछ।प्रत्येक रिङमा छुट्टै क्रम संख्या रहनेछ, सम्बन्धित व्यक्तिको औँलाअनुसार तयार गरिनेछ र त्यससँगै प्रामाणिकताको प्रमाणपत्र पनि प्रदान गरिनेछ।फाइनल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई सम्झनास्वरूप अस्थायी रिङ प्रदान गरिनेछ।
त्यसपछि विजेता टोलीका लागि तयार गरिने ३० वटा रिङ व्यक्तिगत रूपमा नापअनुसार तयार गरी पछि विशेष समारोहमा औपचारिक रूपमा हस्तान्तरण गरिने फिफाले जनाएको छ।फाइनल खेल नेपाली समयानुसार आइतबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ। उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्नेछन्। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई तथा स्पेनले फ्रान्सलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन्।




































