भोली शनिबार रातिदेखी मौसमी प्रणाली पूर्ण रूपमा सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
वि.सं.२०८३ साउन १ शुक्रवार १५:१३
shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने देखिएको जनाएको छ । देशभर मनसुन वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताइन् ।
देशका पहाडी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी बर्षाको सम्भावना रहेको उनको भनाइ छ । उनले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू (विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभाग) का पहाडी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उल्लेख गरिन् ।
लामो दुरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सडकको अवस्था बुझ्न तथा अत्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न समेत उनले सुझाव दिएकी छिन् ।



































