दरवार हत्या काण्ड दिपेन्द्रले गरेका होइनन : एमाले अध्यक्ष ओली
वि.सं.२०८३ साउन १ शुक्रवार १८:५८
shares

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ।उनले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताए। उनले दरबार हत्यकाण्ड कसले गर्यो? भन्नेकुरा अझै खुल्न नसकेको बताए।
‘दरबार हत्याकाण्ड हुनेबित्तिकै विश्वव्यापी रुपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रुपमा पुर्याइयो,’ उनले भने, ‘२०औँ वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। बिनाअध्ययन त्यो कथाको रचनाकार को होङ त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचक को हो? त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो र वाचन गरियो।’




































