पत्रकार रिजालको निधन प्रति नेपाल पत्रकार महासंघले गर्यो दुख व्यक्त
वि.सं.२०८० साउन १९ शुक्रवार १७:०९
shares

काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधनप्रति नेपाल पत्रकार महासंघले दु:ख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ, काठमाडौंका सदस्य समेत रहेका रिजालको बिहीबार राति हृदयघातका कारण भएको निधनप्रति आज शोक वक्तव्य जारी गर्दै महासंघले दु:ख व्यक्त गरेको हो ।
‘नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य हरिप्रसाद रिजालको ४३ वर्षको अल्पायुमै ह्दयघातका कारण भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दु:खी भएको छ । पत्रकार रिजालको साउन १९ गते बिहान २:०० बजे ह्दयघातका कारण काठमाठौंमा निधन भएको हो । स्वर्गीय रिजाल आर्थिक राष्ट्रिय दैनिकका संस्थापक सम्पादक अग्रज पत्रकार प्रह्लाद रिजालका सहोदर भाइसमेत हुनुहुन्थ्यो,’ महासंघका महासचिव रोसन पुरीद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलो बजारमा जन्मिएका रिजाल काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । पछिल्लो समय आर्थिक राष्ट्रिय दैनिकको सम्पादन समूहमा रहेर काम गर्दै आएका उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको महासंघद्वारा जारी वक्तव्यमा उल्लेख छ । ‘महासंघ स्वर्गीय पत्रकार रिजालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित गहिरो समवेदना व्यक्त गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ ।
स्वर्गीय रिजालको शुक्रबार बिहान काठमाडौको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती र एक छोरी छन् ।




































