संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे बीच छलफल
वि.सं.२०८० भदौ १ शुक्रवार ११:४२
shares

काठमाडौँ । संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे बीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख र प्रधानमन्त्री बीच प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोध र सुचारु गर्ने विषयमा छलफल भएको हो ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले सदन खुलाउनका लागि आफूले पनि पहल गर्ने र त्यसका लागि भूमिका निर्वाह गर्न सभामुख घिमिरेलाई आग्रह गरे । सदन खुलाउन छिट्टै सहमति गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेतासँग छलफल गरेर थप पहल गर्ने बताएका छन् । प्रधानमन्त्री सँगको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो नभएको बताउँदै सांसदहरुले बोल्न समय मागे पनि प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरुले बोल्न नपाएको बताए । सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले भने– ‘दलिय सहमति बिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’
उनले संसदीय समितिको नेतृत्व चयन हुन नसकेको बताउँदै संसदमा कानुन निर्माण भएनन भन्ने गुनासो रहेको सुनाए । उनले भने– ‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’ गत साउन १० गते देखि एमालेले निरन्तर संसद अवरोध गरेपछि संसदको गतिरोध खुलाउन विभिन्न पक्षहरुबीच छलफल भेटवार्ता भएपनि सहमति जुट्न सकेको छैन ।



































