कोशीमा बजेट अध्यादेश प्रदेशसभामा पेश
वि.सं.२०८० भदौ १ शुक्रवार १७:३४
shares

विराटनगर । कोशी प्रदेशसभामा दर्ता भएको बजेट सम्बन्धी अध्यादेश अस्वीकारको प्रस्ताव सत्तारूढ गठबन्धनले फिर्ता लिएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेशमार्फत ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकारको प्रस्ताव दर्ता गरेका थिए ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दलले अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता लिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समीकरण र परिस्थिति बदलिएका कारण अस्वीकार गरिएको प्रस्ताव फिर्ता लिएको बताए । अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले बजेटसम्बन्धि अध्यादेश संसदमा पेश गरेका छन् । संसदमा टेबल भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० गते सम्ममा पास गर्नुपर्नेछ ।

































