अमेरिकाले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा जाँदैन : देव गुरुङ
वि.सं.२०८० भदौ १३ बुधवार १६:०७
shares

काठमाडौं । सत्तारढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकाले व्याख्यात्मक टिप्पणी स्वीकार नगरे एमसीसी कार्यान्वयनमा नजाने बताएका छन् । अमेरिकाले एमसीसीको १२बुँदे व्याख्यात्मक टिप्पणी स्वीकार गरेको नदेखिएको भन्दै उनले यस्तो बताएका हुन् ।
बुधबारबाट औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा जाने भएपछि सत्तारुढ दलभित्रै विवाद देखिएको छ । सुरुआतदेखि नै एमसीसीको विपक्षमा रहेर वकालत गर्दै आएका माओवादी नेता गुरुङले फेसबुकमा स्टाटस लखेका छन्, ‘२०७८ फागुन १५ गते नेपालको संसदबाट १२ बुँदे घोषणा सहित एमसीसी सम्झौताको अनुमोदन गरियो । त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरुले १२ बुँदे घोषणालाई स्वीकार गरि त्यसलाई एमसीसी सम्झौताको अंग बनाईनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदा सम्म एमसिसी सम्झौता कार्यन्वयन नहुने भनि संसदको रोष्टमबाट प्रतिवद्वता जाहेर पनि गरिएको थियो । तर, आजसम्म अमेरिकी एमसिसी कम्पनीले औपचारिक रुपमा लिखित रुपमा १२ बुँदे स्विकारेको देखिएको छैन ।’
नेता गुरुङले १२ बुँदे शर्तबारे कुनै उल्लेख नगरि निरपेक्ष रुपमा एमसिसी परियोजना कार्यान्वयनको कुरा उठाइरहेको बताए । ‘माओवादी केन्द्रको प्रष्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसिसी सम्झौताको लिखित अंग नबनाउदा सम्म एमसिसी कार्यान्वयन हुन सक्दैन’ उनले लेखेका छन्, ‘हेक्का रहोस कि, नेपालको सार्वभौम अधिकार सम्पन्न संसदले गरेको घोषणालाई अवमुल्यन गर्ने अधिकार कोही–कसैलाई छैन ।’





































