थापामाथि मुद्दा दर्ता कांग्रेस रुष्ट
वि.सं.२०८० असोज १९ शुक्रवार १६:३६
shares

काठमाडौ । मुलुक यतिबेला भ्रष्टाचारीको जालोमा डुबेको छ । चौतर्फी रुपमा भ्रष्टाचारको विरोध भएपनि भ्रष्टाचारमा कुनै कमी आउन सकेको छैन । प्रायः प्रत्येक दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार विरुद्धमा मुद्दाहरु दर्ता गरिरहेको छ । ठुला ठुला भ्रष्टाचारका काण्डहरुमा सरकारले नै संरक्षण गरिरहेको हुनाले भ्रष्टाचारीहरुको मनोबल घट्नुको बदला बढ्दै गएको छ ।
राजनीतिक दलहरुले आ आफ्नो पार्टीमा रहेको भ्रष्टाचारीहरुलाई कारबाही गरि पार्टीबाटै निष्कासन गरेको खण्डमा भ्रष्टाचारमा कमी आउन सक्छ । तर ठीक त्यसको विपरित तिनै भ्रष्टचारीहरुलाई राजनीतिक दलहरुले र सरकारले संरक्षण गर्ने गरेका हुनाले भ्रष्टाचार बढ्दै गएको छ ।
ललिता निवास जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड सुन तस्करी काण्डमा संलग्न भएका भनिएका राजनीतिज्ञहरुलाई उन्मुक्ति दिएर तल्लो तहका व्यक्तिहरुलाई मात्र मुद्दा चलाइएको छ । मुलुकको कार्यकारी प्रधानमन्त्री नै आफ्नै न्यायाधिश जस्तो भएर फलान चाँहि निर्दोष रहेका छन्, भन्ने अभिव्यक्ति सार्वजनिक रुपमै दिँदै हिडेका छन् । त्यही कारणले गर्दा ललिता निवास जग्गा काण्डमा माधव नेपाल, बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लिलामणि पौडेललाई उन्मुक्ति दिइयो ।
सत्ता स्वार्थलाई हेरेर भ्रष्टाचारमा संलग्न भएका भनिएकाहरुलाई उन्मुक्ति दिँदै जाने हो भने पशुपतिनाथको जलहरी काण्डमा मुछिएका तत्कालिन सदस्य सचिव प्रदीप ढकाल र हालका सदस्य सचिव मिलन कुमार थापाले समेत उन्मुक्ति पाउन सक्ने सम्भावना देखिएको छ । थापालाई शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए । थापा सदस्य सचिवमा नियुक्त हुनुभन्दा अगाडि पशुपति विकास क्षेत्र कोषको कोषाध्यष रहेका थिए ।
थापा कोषाध्यक्ष रहेकै बेला अख्तियारले जलहरी प्रकरणमा बयानमा बोलाएको थियो तर उनी बयान दिन गएनन् । उनी कांग्रेसका नेता समेत रहेका र अख्तियारको बयानबाट बचाउनका लागि कांग्रेसको सिफारिसमै कांग्रेसका सभापति समेत रहेका तत्कालिन प्रधानमन्त्री देउवाले थापालाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।
अख्तियारले असोज १४ गते तत्कालिन सदस्य सचिव ढकाल हालका सदस्य सचिव थापा र स्टोर किपर सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि कांग्रेसभित्र हलचल मच्चिएको र आफू विरुद्ध मुद्दा दर्ता हुने थाहा पाएपछि थापा राष्ट्रपति कार्यालय, संसद सचिवालय लगायत विभिन्न निकायमा आफू निर्दोष रहेको भन्दै आफूलाई कारबाही नगर्न आग्रह गर्दै निवेदन समेत दर्ता गराएका थिए । उनले सभापति देउवालाई भेटेर आफूलाई कारबाही नगर्र्न पहल गरिदिन समेत आग्रह गरेका थिए ।
अख्तियारले झण्डै दुई वर्ष लगाएर गरेको अनुसन्धानमा सुनमा पित्तल मिसाएर तौल बराबर बनाएको र १ किलो भन्दा बढी सुन गायब बनाएको भन्दै मुद्दा दर्ता गरेको छ । अख्तियारले मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेस अख्तियारकै विरुद्धमा लागेर सत्ताको आडमा थापालाई बचाउन लागि पर्न सक्ने सम्भावना समेत देखिएको छ ।

































