kumari
stcnepal

महाराजगन्ज नर्सिङ क्याम्पसका आन्दोलनरत विद्यार्थी सँग ६ बुँदे सहमति

काठमाडौँ । महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीसँग ६ बुँदे सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालय र आन्दोलनरत विद्यार्थीहरू बिच ६ बुँदे सहमति भएको हो । सहमतिसँगै विद्यार्थीहरूले डीन कार्यालयमा लगाएको ताला खुलेको छ । डीन प्राडा दिव्या सिंह शाह तथा महाराजगन्ज नर्सिङ क्याम्पसका स्ववियु सभापति नोबिना बस्नेत सहितको प्रतिनिधिहरूबिच उक्त सहमति भएको हो । सहमतिमा विद्यार्थीहरूले उठान गरेका मागहरू सम्बोधन गरिने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद्बाट स्वीकृत बेचुलर इन मिडवाईफ्री साइन्स (बीएमएस) को पाठ्य संरचनासहितको पाठ्यक्रम प्रक्रियागत रूपमा क्याम्पस एवं विद्यार्थीहरूलाई उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै गत मङ्सिरमा सञ्चालित प्रथम सेमेस्टरको परीक्षा तालिकामा बीएमएस कार्यक्रम हुनुपर्नेमा अन्यथा भएकाले बीएमएस नै बनाउन महाराजगन्ज नर्सिङ क्याम्पसलाई डीन कार्यालयले निर्देशन दिने सहमति भएको छ । त्यस्तै यसअघि २०८० चैत ९ गते शिक्षामन्त्रीको संयोजकत्वमा बसेको बैठकले गरेको निर्णयहरू स्ववियुलाई उपलब्ध गराउने समेत निर्णय भएको छ । सोही आधारमा स्ववियले डीन कार्यालयमा लगाएको ताला आजदेखि खोलेको हो ।

डीन कार्यालयमा लगाएको ताला खोले पनि क्याम्पसमा लगाएको ताला भने यथावत् नै रहेको स्ववियु सभापति बस्नेतले बताइन् । क्याम्पसमा देखिएका विभिन्न समस्या समाधान गर्न माग राखेको र ती मागहरू सम्बोधन नभएकाले अहिले ताला नखोलिएको उनको भनाइ छ । सम्भवतः आजै क्याम्पस प्रशासनसँग पनि सहमति हुने र त्यसपछि ताला खोलिने बताइन् ।

footer