kumari
stcnepal

राजश्व अनुसन्धानको महानिर्देशकमा चक्रबहादुर बुढा, नवराज ढुंगाना परराष्ट्रमा

काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ । बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजश्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ । गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए । अमेरिकन कम्पनी कोटिभिटी विरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए । राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभागभन्दा आकर्षक मानिने महावाणिज्यदूत पदमा पठाउन लागिएको हो ।

यसरी पटक–पटक महानिर्देशक फेर्दा राजस्व अनुसन्धान विभागको नेतृत्व भने अस्थिर बनेको छ । ढुंगानाभन्दा अघिका महानिर्देशक रहेका नारायण सापकोटाले विभागका तीन महिना मात्रै विभागमा काम गर्न पाएका थिए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो । विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन । ओली सरकारका पालामा राजश्व अनुसन्धान बिभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि यसको दुरुपयोग बढ्दै गएको छ । राजनीतिक नेतृत्वले यो विभागलाई नाजायज ढंगले प्रयोग गर्ने क्रम बढेको निजी क्षेत्रले आरोप लगाउँदै आएको छ । त्यसमाथि पटक–पटक नेतृत्व परिवर्तनका कारण विभाग निकम्मा र भुत्ते हुँदै आएको छ ।

पछिल्लोपटक सवैभन्दा लामो सयमसम्म विभागको नेतृत्व दीर्घराज मैनालीले गरेका थिए, उनले २०७५ जेठदेखि ७७ फागुनसम्म बिभागको नेतृत्व गरेका थिए । त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना महानिर्देशक बने । उनीपछि प्रकाश पौडेल विभागको नेतृत्वमा आएका थिए, जो ८ महिना पनि टिक्न सकेनन् ।असार२०७९ मा विभागमा आएका झलकराम अधिकारी चार महिनामै सरुवा भए भने कार्तिक २०७९मा महानिर्देशक बनेका मदन दाहाल तीन महिना पनि टिक्न सकेनन् । गत माघमा बिभागमा पठाइएका नारायण सापकोटालाई चार महिनामै सरकारले सरुवा गरेर प्रधानमन्त्रीका निजी सचिवका रुपमा काम गरिरहेका सहसचिव ढुंगानालाई पठाएको थियो ।

राजस्व चुहावट माथि अनुसन्धान गर्ने निकायका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विभाग पछिल्लो दिनमा राजनीतिक नेतृत्वको इसारामा चल्ने गरेको आरोप छ । व्यवसायी र राजनीतिक नेतृत्वको स्वार्थपूर्ति हुन नसक्ने भए महानिर्देशक सरुवा गरिहाल्ने प्रवृत्ति देखिएको छ ।

footer